काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतको आदेश परिपालना गर्न प्रतिबद्ध रहेको बताएका छन्।
मेयर शाहले सोमबार सामाजिक सञ्जालमार्फत आफू सर्वोच्चको आदेश परिपालना गर्न तयार रहेको तर संघीय सरकारले पनि सर्वोच्चका आदेश पालना गर्नुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, ‘सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भिरता थप पुष्टि हुन्छ ।’
सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै नभएर संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक भएको उनको भनाई छ ।
काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित बिषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको बिषयका रुपमा ग्रहण गरेको भन्दै मेयर साहले अदालतप्रति आभार प्रकट गरेका छन् ।