ठगी धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

0 Shares

काठमाडौं– ५० जना व्यक्तिलाई ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठगी आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–१७ कि ३५ वर्षीया जुनुकला राईलाई पक्राउ गरेको हो।

राईबाट पीडित भएको भन्दै परिसरमा १४ जनाले लिखित र ३६ जनाले मौखिक जाहेरी दिएका थिए। राईले काठमाडौं चाबहिलस्थित गंगाहिटीमा भिजन ड्रिमरी प्रालि अफिस खोलेर ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ।

उनले ५० जना युवायुवतीलाई विदेश भ्रमणमा पठाउने भन्दै ११ हजार ३ सय देखि ५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ। यसरी उनले ५० जना व्यक्तिबाट ५० लाख भन्दा बढी रकम ठगी गरेको परिसरका एसपीले जानकारी दिए।

५ लाख रुपैयाँ तिरेर उक्त कम्पनीको सदस्यता समेत लिन लगाउने र ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने तर, सदस्य बनाउन नसकेको अवस्थामा कम्पनीबाट उत्पादन भएका बिना गुणस्तरका सामग्रीहरू महँगो मूल्यमा दिएर रकम चुक्ता गराउने गरेको पाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै