काठमाडौंको न्युरोडमा भएको हत्यामा संलग्न १ जना पक्राउ

0 Shares

काठमाडौं– मंगलबार बिहान न्युरोडस्थित जुद्ध शालिक नजिक भएको हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा १२ घर भएका ६२ को जितबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । कात्तिक १५ गते मंगलबार बिहान ६: ४५ बजे न्युरोडको जुद्द शालिक नजिक अन्दाजी ४४–४५ वर्षका एक पुरुषको शव फेला परेको थियो । पहिचान नखुलेका ती पुरुषको हत्यामा संलग्न रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपीले बताए ।

मंगलबार बिहानै पुरुषको शव भेटिएपछि प्रहरी वृत्त जनसेवाबाट डीएसपीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको थियो । पछि जिल्ला प्रहरी परिसरबाट एसएसपी र एसपीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न व्यक्तिको पहिचान भएपनि उनी फरार रहेका कारण खोजी कार्य जारी राखिएको थियो । आरोपीको खोजी गर्ने क्रममा बुधबार प्रहरी वृत्त जनसेवाको टोलीले आरोपित जितबहादुर लामालाई बाङ्गेमूढाबाट पक्राउ गरेको हो । पक्राउ परेका लामाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । उनले ढोका लगाउन प्रयोग हुने काठको आग्लोले प्रहार गरी पहिचान नखुलेका पुरुषको हत्या गरेको बताएका छन् ।

आरोपित र मृतक दुवैजना सडक पेटीमा सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । राती सुत्ने बेलामा वादविवाद भएपछि लामाले ती आरोपितमाथि काठको आग्लो प्रहार गरी हत्या गरेका थिए । आरोपितलाई पनि मृतकको सम्बन्धमा जानकारी नभएको बताइएको छ । मृतकको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचारसबै