पूर्ण रूपमा खुल्दै चीनसँगका नाका

0 Shares

काठमाडौँ – नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।

त्यसैगरी तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन तथा यारी–पुलाङ क्षेत्रबाट यात्रु आवागमन भने आगामी वैशाख १८ गतेदेखि सञ्चालन गर्ने सहमति भएको छ । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्ने सहमति जनाएको  छ ।

नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल पक्षले गर्ने पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन पनि दिएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले संयुक्त अध्यक्षता गर्नुभएको बैठकमा सीमापार व्यापार र जनसम्पर्कलाई अधिकतम स्तरमा सञ्चालन गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै चीनमा अमिलो फलफूल, सुक्खा मासु र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे छलफल भएको थियो । सचिव मरासिनीले काठमाडौँ–ल्हासा सिधा उडानका लागि आग्रह गरे। यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचारसबै