ललितपुरमा दादुराको लक्षण : विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदै

0 Shares

ललितपुर – ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिएका छन् । कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शङ्कास्पद बिरामी भेटिएका वडा कार्यालयले जनाएको छ ।

वडाका अनुसार अहिलेसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपाेर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ । दादुरा रुबेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत गरिएको छ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि आचार्यले दादुराको सङ्क्रमण पुष्टि भए छुट्टै आइसोलेशनमा बस्न र तत्काल वडामा जानकारी दिन समेत अनुरोध गर्नुभएकाे छ । ललितपुर महानगरपलिकाका प्रवक्ता राजु महर्जनले टेकुमा गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ अर्थात् दादुराको सङ्क्रमण नभएको जानकारी आएको बताउनु भयाे । तर, पाटनमा  गरिएको परीक्षणको  रिपोर्ट भने आउन बाँकी छ।

बालबालिकालाई दादुरा र  रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ । तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताए।

उहाँका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ। नेपालले सन् २०१९ सम्ममा दादुरा उन्मूलन गर्ने लक्ष्य राखे तापनि बेलाबेलामा प्रकोप देखिएकाले सन् २०२३ सम्ममा उन्मूलन गर्ने लक्ष्य सारिएको थियो । तर यही समयमा फेरि दादुराका सङ्क्रमित भेटिन थालेका छन्।

सम्बन्धित समाचारसबै