काठमाडौँ उपत्यकामा भोलिदेखि गाडी नचलाउने यातायात मजदूरको घोषणा

0 Shares

काठमाडौँ– यातायात मजदूरहरुले भोलि (फागुन २ गते)देखि काठमाडौँ उपत्यकामा गाडी नचलाउने घोषणा गरेका छन्। यातायात मजदूर संगठनहरुले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरुका १० बुँदे माग सम्बोधन नभएसम्म गाडी नचलाउने घोषणा गरेका हुन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार गोंगबुस्थित नयाँ बसपार्कमा भेला भएका मजदूरहरुलाई नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रा.लीका महाप्रबन्धक सुनिल कुँवरलगायतको ३० जनाको समूहले आक्रमण गरी घाइते बनाएको यातायात मजदूर संगठनहरुले आरोप लगाएका छन्।

उनीहरुले प्रहरीले आक्रमणकारीलाई नियन्त्रण गर्नुको साटो मजदूरहरुमाथि नै बल प्रयोग गरेको भन्दै त्यसको मजदूर संगठनहरुले भर्त्सना गरेका छन्। त्यसक्रममा राजधानीको गोंगबु, बालाजुलगायतको क्षेत्र तनावग्रस्त भएको छ। मजदूरहरुले प्रहरीका दुई वटा भ्यानमा आगजनीसमेत गरका छन्।

यातायात मजदूरहरु ट्राफिक नियमविरुद्ध आन्दोलित भएका हुन्। ट्राफिक जरिवाना बढाइएको, प्रदूषण जाँचका नाममा जरिवाना असुल्न थालिएको, चालकको  ट्राफिक लाइसेन्स निलम्बन गरिएको भन्दै उनीहरुले विरोध गरेका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले संयुक्त विज्ञप्ति जारी गरी भोलिदेखि सम्पूर्ण यातायातका साधनहरु ठप्प पार्न आह्वान गरेका छन्।

सम्बन्धित समाचारसबै