काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपति भण्डारीले माफी माग्नु पर्ने माग गरेका छन् ।
राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् । उनले घटनाले मर्माहित बनाएको उल्लेख गर्दै प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनसिल मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु घोर आपतीजन्य र निन्दनिय कार्य भएको बताएका छन् ।
‘सम्माननिय राष्ट्रपतिलाई सम्मान दिनु पर्छ तर जनतालाई सास्ति दिएर गरेको सम्मानको के अर्थ के ? हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अन्त हुन जरूरी छ। चिकित्सकमाथिको कुटपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गर्दछु। साथै सम्माननिय राष्ट्रपतिले यो बिषयमा चिकित्सक सङ माफी माग्न हार्दिक अनुरोध गर्दछु’ उनले भनेका छन् ।
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो । चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ