![](https://www.bishalnews.com/wp-content/uploads/2022/08/america-g.jpg)
काठमाडौं– संसारभरि लाखौं मानिसहरू अमेरिका जान चाहन्छन् । तर अमेरिकीहरु भने ठूलो संख्यामा युरोपेली देशमा गइरहेको देखिएको छ ।
विगतमा अवकासप्राप्त अमेरिकीहरु इटाली, पोर्चुगल, स्पेन, ग्रीस र फ्रान्सजस्ता देशमा पुनर्वास गर्ने गरेको देखिन्थ्यो । तर पछिल्लो प्रवृति युवाहरुमा समेत देखिएको छ । युवा अमेरिकीकोसमेत आगमन बढेपछि ग्रीस, पोर्चुगल, इटाली आदि देशमा गत वर्षको तुलनामा अमेरिकीको संख्या ४५ प्रतिशतले बढेको पाइएको छ । अमेरिकीहरुको आगमनसँगै धेरै इटालियन कम्पनीहरुको आम्दानी पनि बढेको बताइँदैछ ।
पलायन हुनुको मुख्य कारण डलरको मुल्य, अमेरिकामा महँगो स्वास्थ्य प्रणाली, बन्दुक संस्कृति र उच्च अपराध दर रहेको बताइँदैछ । डलरको उच्च मूल्यको कारण अमेरिकी नागरिकहरू सजिलै कम पैसामा अन्य देशहरूमा विलासी जीवन बिताउन सक्छन् । युरोपमा अमेरिकाको भन्दा राम्रो शिक्षा, गुणस्तर र निःशुल्क स्वास्थ्य सुविधा रहेको छ । अमेरिकामा जस्तो ऋणको पासोमा नपर्ने भएकाले बसाईंसराई गर्नेगरेको अमेरिकीको भनाइ छ ।
बन्दुक संस्कृति सबैभन्दा ठूलो समस्या
एक सर्वेक्षणका अनुसार अमेरिकीहरू मुद्रास्फीतिपछि बन्दूक संस्कृतिलाई सबैभन्दा ठूलो समस्या मान्छन् । अमेरिकामा भन्दा युरोपेली देशहरूमा बन्दुक राख्ने चलन न्युन छ । त्यसले गर्दा त्यहाँ अपराधको दर निक्कै न्युन छ । युरोपेली मुलुकहरुको कल्याणकारी कार्यक्रम अमेरिकाको तुलनामा विस्तारित छन् । युरोपमा घरजग्गाको मुल्य पनि अमेरिकाको भन्दा कम छ ।
रिमोट वर्कको प्रभाव
कोरोना महामारीमा विश्वका धेरै व्यवसायहरूले वर्क फ्रम होमको अभ्यास गरे । महामारीकालमा लागू कठोर लकडाउनका कारण यसले धेरै राहत दिएको थियो । कयौं अत्यावश्यक सेवा पनि सहज रुपमा चल्न सम्भव भयो । स्थिति सामान्य अवस्थामा फर्केपछि पनि कयौं संस्थाहरुले रिपोर्ट वर्कको अभ्यासलाई निरन्तरता दिएका छन् । अमेरिकी कम्पनीहरूको तलब धेरै हुने र टाढा बसेर पनि काम गर्न सकिने भएपछि कति मािनसहरु सस्तो पर्ने युरोपमा बस्ने र अमेरिकी कम्पनीहरूमा काम गर्ने गरिरहेका छन् ।
युरोपेली देशहरूमा ‘ह्वाईट कोलार’ सेवाको तलब २७ हजारदेखि ४५ हजार डलर छ । जबकी, अमेरिकी कम्पनीहरूको तिनै कामका लागि औसतमा ७० हजार डलर तिर्छन् । यस्तो अवस्थामा मानिसहरू अमेरिकी कम्पनीको काम छोड्न चाहँदैनन् । अमेरिकी युवाको युरोपमा पलायनः मुलत अमेरिकाको महँगो गुजारा, अपराध र बन्दुक संस्कृति र रिमोर्ट वर्कले प्रभावित बनाएको छ ।