काठमाडौं– स्ट्यान्डअप कमेडीमार्फत उदाएका कमेडियन आदर्श मिश्राले फिल्ममा डेब्यू गर्ने भएका छन् । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्ने फिल्म ‘ह्रश्व–दीर्घ’ मार्फत उनले डेब्यू गर्न लागेका हुन् । कमेडी गरेरै चर्चामा आएका आदर्श फिल्मको वर्कशपका लागि यतिबेला मुम्बईमा छन ।
यही फेब्रुअरी ६ देखि भारतको हैदरावादबाट फिल्मको छायांकन प्रारम्भ हुँदैछ । चन्द्र पन्तले निर्देशन गर्ने फिल्ममा नेपाली र भारतीय कलाकारको अभिनय रहने छ ।
यसैबीच, फिल्ममा धेरैअघि अनुबन्धित अभिनेता सलोन बस्नेतले भने यो फिल्मबाट बाहिरिएका छन् । होम प्रोडक्सनको फिल्म ‘जय हो’ लाई समय दिनुपर्ने भएकोले उनले अभिनेता ढुंगानाको फिल्म छोडेका हुन् ।
आदर्शले आफू फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गर्दै यसका लागि अभिनेता सलोन बस्नेतलाई धन्यवाद दिएका छन् । सलोनको सेड्यूलका कारण आफूले यो फिल्ममा अभिनय गर्ने मौका पाएको उनको भनाइ छ ।