काठमाडौं– अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, दन्तमन्जन, टिस्यु पेपर स्प्रे, बेगन, सरफ, मिनरल वाटर, डोरम्याटजस्ता स-साना सामग्रीसमेत सरकारले उपलब्ध गराउँदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राज्यले उपलब्ध गराउने त्यस्ता सामग्रीमा मात्र हरेक वर्ष ६ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।
सरकारले विनामापदण्ड र बिनाकार्यविधि विशिष्ट पदाधिकारीलाई यस्ता सानातिना सामग्री उपलब्ध गराउँदै आएको छ भने उनीहरूले लिने अन्य सुविधाको त लेखाजोखा नै छैन । विशिष्ट पदाधिकारीले मागेजति सामान सहरी विकास मन्त्रालयमातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले उपलब्ध गराउँदै आएको छ।
मागअनुसारका सामग्री प्रयोग भएरनभएको अनुगमनसमेत कसैले गर्दैन । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले विशिष्ट पदाधिकारीको माग र आवश्यकताअनुसार कार्यालयले सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए ।
२०५६ सालमा मन्त्रिपरिषद्ले विशिष्ट पदाधिकारी तथा मन्त्री विनाश पुल्चोकका लागि दैनिक आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । तर कुन पदाधिकारीलाई केके सामग्री उपलब्ध गराउने भन्ने विषयमा मापदण्ड र कार्यविधि बनेको छैन । यो समाचार नागरिक दैनिकमा छ ।