काठमाडौं – खुलामञ्चमा ‘ट्रिपल अन्डरग्राउन्ड पार्किङ’ निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय फिर्ता लिन सोमबार ‘अकुपाई टुँडिखेल’ अभियानले मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाउने भएको छ । सांस्कृतिक, राजनीतिक र प्राकृतिक महत्व बोकेको खुलामञ्चको विकल्पमा अन्यत्रै पार्किङस्थल बनाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाउन लागिएको हो ।
प्राकृतिक, राजनैतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक रुपमा महत्वपूर्ण तथा विपद् पर्दा नागरिकको प्रत्यक्ष आश्रय स्थल, जनताको भावनात्मक सम्बन्ध बोकेको सार्वजनिक अमूल्य सम्पत्ति टुँडिखेलको खुल्लामञ्चको अन्य विकल्प हुँदाहुँदै पनि तीन तल्ला अन्डरग्राउन्ड पार्किङ भवन बनाउने योजनासहित डीपीआर प्रक्रिया अघि बढाउन महानगर अग्रसर देखिएको अभियानले जनाएको छ ।
प्राचीन हिति प्रणालीसँग जोडिएको खुल्लामञ्चको प्राकृतिक रिचार्ज सिस्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पनि पर्ने भएकोले खुल्लामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने महानगरको योजना गलत रहेको अभियानले जनाएको छ ।