काठमाडौं – सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भष्ट्राचारको अभियोगमा दोषी ठहर गर्दै उनलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । सेनाले फेब्रुअरी २०२१ मा सुकीको निर्वाचित सरकारलाई हटाएदेखि राजनीतिक रूपमा रंगिएको अभियोगहरुमा उनलाई कुल ३३ वर्षको जेल सजाय सुनाएको हो । शुक्रबार फैसला सुनाएको मुद्दामा भ्रष्टाचार विरोधी कानुन अन्तर्गत पाँचवटा अपराधहरू समावेश थिए ।
जसको लागि सात वर्षको सजाय सुनाइएको छ भने बाँकी सजाय पहिलेका सात अन्य भ्रष्टाचारका मुद्दाहरुको रहेको एपीले जनाएको छ । जसमा प्रत्येकमा १५ वर्षसम्म जेल र जरिवानाको सजायको व्यवस्था छ । अघिल्लो सबै दोषहरूले उनलाई जम्मा २६ वर्षको जेल सजाय सुनाइएको थियो ।
७७ वर्षीया सुकीलाई गैरकानुनी रूपमा वाकी–टकीहरू आयात र राख्ने, कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन गर्ने, देशको आधिकारिक गोप्य ऐन उल्लंघन, देशद्रोह र चुनावी जालसाजीलगायत अन्य थुप्रै अपराधहरूमा पनि दोषी ठहर गरिएको थियो ।