नदीको सतह बढेसँगै नगरवासीलाई सतर्क रहन भरतपुर महानगरको आग्रह

0 Shares

भरतपुर-विगत केही दिनदेखि परेको अविरल वर्षाको कारण भरतपुर महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणी नदी, राप्ती नदी र अन्य खोलाहरूको सतह वृद्धि भएको छ । पानीको सतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने भरतपुर नगरवासीलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वर्षाको क्रम बढ्दै गइरहेकाले नदी, खोला आसपासका क्षेत्रमा धनजनको क्षति हुन सक्ने, महानगरका अधिकांश वडाहरू डुबानमा पर्न सक्ने तथा वडा नं २९ को पहिरोले नोक्सान पार्न सक्ने देखिएकाले स्थानीयलाई सजग र सतर्क रहन आग्रह गरेकी हुन् ।

लगातार वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह पनि गरेकी छन् । ‘लगातार वर्षा भइरहेको छ,’उनले भनिन्, ‘नदीको बहाव पनि बढिरहेको छ सम्पूर्ण सुरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन प्रतिकार्य इकाइलाई समन्वयात्मक ढङ्गले परिचालित भई नियन्त्रण तथा उद्धारमा खटिन तयार रहनुस्।’

प्रमुख दाहालले ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न समेत आग्रह गरेकी छन् । प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिती, युवा क्लबहरूलाई प्रतिकार्यमा परिचालन गर्न वडाध्यक्षहरूलाई निर्देशन दिएकी छन् ।

सम्बन्धित समाचारसबै