टेस्लाकाे वायरलेस चार्जिङ म्याट सार्वजनिक

0 Shares

काठमाडौं – पछिल्लो समयमा एप्पलमा र एलन मस्कबिच विवाद चलिरहेको छ । त्यो हिसाबले पनि एलन मस्कले एप्पलसँग वा एप्पलको लागि काम गर्नेछ भनेर विश्वास नलाग्नसक्छ । तर मस्कले भने एप्पललाई टक्कर दिन हर सम्भव प्रयास गरिरहेको छ । यसैबिच कम्पनीले एप्पलले अवधारणा बनाएर पनि रद्द गरेको उत्पादन वायरलेस चार्जिङ म्याट टेस्लाले सार्वजनिक गरेको छ ।

यो चार्जरमा एकपटकमा तीनओटा डिभाइस चार्ज गर्न सकिन्छ । सन् २०१७ मा एप्पलले यस्तो प्रकारको डिभाइस सार्वजनिक गर्ने अपेक्षा थियो । कम्पनीले उक्त डिभाइसको नाम ‘एयरपावर’ भनेर पनि राखेको थियो । तर पछि कम्पनीले विभिन्न कारण देखाइ सन् २०१९ मा आएर यो डिभाइस उत्पादन नगर्ने घोषणा गर्‍यो ।

केही विज्ञहरूले त चार्जिङको भविष्यको रुपमा एयरपावर स्थापित हुने समेत बताएका थिए । कम्पनीले भने आफूहरूले सोचेको जस्तो एयरपावर उत्पादन हुन नसक्ने भन्दै योजना नै रद्द गरेको थियो ।

यति धेरै स्रोत र जनशक्ति हुँदाहुँदै पनि एप्पलले यो डिभाइस उत्पादन गर्न नसक्ने बताउँदा टेस्लाले भने उत्पादन नै सार्वजनिक गर्दा धेरै मनमा टेस्लाको उत्पादनप्रति प्रश्न पनि उठेको छ । उत्पादनमा पनि केही नयाँ कुरा भने पाउन सकिन्न । यो म्याटमा चार्ज गर्दा १५ वाट को  फास्ट चार्जिङमा डिभाइसहरू चार्ज हुन्छन् । कम्पनीले ‘फ्रिपावर’ नामक कम्पनीको प्रविधि प्रयोग गर्दै यो उत्पादन सार्वजनिक गरेको हो ।

फ्रिपावरले नोमाड बेस स्टेशनका उत्पादनहरूको लागि पनि यस्तो प्रकारको डिभाइस उत्पादन गरेको थियो । अहिले टेस्लाले यसको मूल्य पनि ३०० डलर तोकेको छ । जबकी दुईवर्ष अगाडी नोमाडले यसको मूल्य २२९ डलर मात्र तोकेको थियो । अझै पनि यो महँगो भएको कम्पनीले बताएको थियो । हाल नोमाडले पनि उक्त उत्पादन बिक्री गर्न भने छोडिसकेको छ तर पुरानालाई मर्मत गर्ने काम भने गरिरहेको छ ।

यस्तोमा टेस्लाले उत्पादन गरेको म्याटको समिक्षा भने हुन बाँकी नै छ । कम्पनीले बजारको माग पूरा गर्न भन्दा पनि एप्पललाई टक्कर दिनको लागि मात्र यो उत्पादन सार्वजनिक गरेको पनि अनुमान छ । साथै कम्पनीको आफ्नै भविष्य धरापमा भइरहेको समयमा यसले नयाँ योजनालाई कसरी अगाडि लान्छ भन्ने प्रश्न पनि छ ।

सम्बन्धित समाचारसबै