जुम्ला – तिला गाउँपालिका–१ रारागाउॅका दलबहादुर बुढालाई अहिले सिमी बेच्न भ्याइ नभ्याइ छ । उनले एक महिनाअघि बारीबाट सिमी भित्र्याएका थिए । सिमी फलाउनु मात्रै पर्यो, व्यापारीहरू घरमै आएर सिमी लैजान्छन।
बुढाले यो वर्ष उत्पादन गरेको झन्डै ५ क्विन्टल सिमी नेपालगन्ज र सुर्खेत गइसकेको छ । घरमै प्रतिकेजी १ सय ७० रूपैयाँमा सिमी बेच्न पाउँदा दलबहादुर दंग छन् । उनले सिमीको मूल्य मार्सी चामलको भन्दा पनि उच्च रहेको बताए।
यस्तै तिला–९ का तुलबहादुर बुढाले पनि बर्सेनि सिमी बेचेरै घर खर्च चलाउने गरेका छन् । उनले सिमी बेचेको पैसाले नै ५ जनाको परिवार धानेका छन् । एक छोरा र एक छोरीलाई सदरमुकाम खलंगामा पढाइरहेका छन् । उनले भने पहिले सिमी नबिक्दा भकारीमा थन्क्याउँथ्यौं, वर्षौं पुरानो सिमीको दाल उपभोग गर्नुपर्ने वाध्यता थियो। तर अहिले त सबै सिमी बिक्री भएपछि घरमा दाल खानका लागि पनि बच्दैन, सबै सिमी गाउँमै आएका व्यापारीले होलसेलमै लिन्छन्। उनले झन्डै ७ रोपनी जग्गामा सिमी खेती गरिरहेका छन् । जसबाट उनले ३ लाख रूपैयाँसम्म कमाइ गरिरहेका छन् ।
रारालिही जिल्लामा सबैभन्दा सिमी उत्पादन हुने गाउँ हो । स्थानीय बुद्धिमल रावतका अनुसार गाउँमा २ सय ८० घरधुरी छन् । प्रत्येक घरमा न्यूनतम् ५ क्विन्टल सिमी उत्पादन हुने गरेको उनको भनाइ छ । सिमी जिल्ला बाहिर जान थालेपछि हामीलाई पनि घर खर्च चलाउन सजिलो भएको उनले बताए।
तिला गाउँपालिकाको कृषि शाखाका रारागाउँमा मात्र गत वर्ष ४ हजार २ सय क्विन्टल सिमी उत्पादन भएको थियो । यो वर्ष किसानहरूले तथ्याङ्क उपलब्ध नगराएकाले कति उत्पादन भयो भन्ने आँकडा छैन । स्याउ सुपरजोन कार्यालयले तिलाका रारा र लर्मी गाउँलाई सिमी पकेट क्षेत्रका रूपमा अघि सारेको छ । कर्णाली राजमार्ग नजिकैको बस्ती भएकोले उत्पादन भएको सिमी घरमा थन्किँदैन । तर यस वर्ष सिमी फल्ने मौसममा अत्यधिक वर्षा भएकाले उत्पादनमा केही कमी आएको किसानहरूको भनाइ छ।
जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा सिमी फल्छ । यहाँको सिमी सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौं, पोखरालगायतका सहरहरूमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जुम्ली सिमीको दाल र गेडा स्वादिलो र स्वास्थ्यका हिसाबले लाभदायक भएकोले बाहिर जिल्लामा माग अत्यधिक रहेको बताए । उनका अनुसार गत वर्ष जिल्लाभरि करिब १ हजार ९ सय हेक्टरमा २ हजार ७ सय टन सिमी उत्पादन भएको थियो । जुम्लामा उत्पादन भएको झन्डै ६० प्रतिशत सिमी जिल्ला जाने गरेको कार्यालयको तथ्याङ्क छ ।