काठमाडौं – फिल्म ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन आज (बिहीबार) देखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको छ ।
४० दिनको छायांकन तालिका छ । आज बिहान भएको मुहूर्तमा कलाकारद्वय विपिन कार्की र केकी अधिकारीले सट दिए । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो । निर्माता सुवास थापा र अभिनेता विपिन कार्कीबीच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो ।
एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् । सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ । राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए ।
दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निर्माताले जानकारी दिएका छन् । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने फिल्मको अघिल्लो भागलाई रुचाइएको थियो ।