संगठन सिध्दिएको कांग्रेसलाई निर्णय उल्ट्याएर सोलुमा कांग्रेसको वर्चस्व ल्याएँ : नेता बलबहादुर केसी

0 Shares

काठमाडाैं– कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधिसभा चुनाव हारे । पार्टीभित्रको अन्तर्घातका कारणले उनले चुनाव हारेको भन्दै जिल्ला सचिवले विज्ञप्ति निकाले । त्यसपछिको घटनाको छानबिन र बहस सकिएको छैन । केसी एमालेका मानवीफर राईसँग पराजित भएका थिए ।

केसी २०४८, २०५१, २०५६ र २०७० मा सोलुखुम्बुबाट निर्वाचित भएका थिए । उनी २०६४ र २०७४ को चुनावमा भने पराजित भएका थिए । उनी योपटक जित निकालेर संसद्‌मा फर्किन चाहन्थे । उनले यो आफ्नो अन्तिम चुनाव पनि भनेका थिए ।

चुनावमा हारे पनि पार्टी बलियो बनाउन लाग्ने केसीले बताएका छन् । चुनाव हारे पनि तीनवटा काम गर्ने उनले बताए । ‘घात अन्तर्घात देशव्यापी भइरहेको छ । पार्टीलाई यसबाट मुक्त गराउन देशव्यापी रूपमा लागिपर्छु,’ उनले  भने ।

उनले विधानअनुसार पार्टी चल्नुपर्ने बताए । ‘संगठन ध्वस्त छ, कांग्रेसको संगठन नै छैन । भ्रातृ संस्था कुनै पनि क्रियाशील छैनन्,’ उनले भने, ‘पार्टीमा अनुशासन छैन । बेथितिको क्लब भएर बसेको छ । त्यसका लागि काम गर्नेछु । न्याय अन्याय विधानले गर्छ ।’

जातीयता हाबी भएको र वैचारिक धरातलमा कांग्रेस नभएको उनले बताए । ‘कि जातीय पार्टीमा जानुपर्‍यो कि क्षेत्रीय पार्टीमा जानुपर्‍यो । विचारको राजनीति समाप्त भयो,’ उनले भने ।

जिल्लामा उम्मेदवारी दिएर कांग्रेसको वर्चस्व भएको उनले बताए । ‘राजनीति जितेको छु, माननीय न जितिनँ । संगठन सिध्दिएको कांग्रेसलाई निर्णय उल्ट्याएर सोलुमा कांग्रेसको वर्चस्व ल्याएँ,’ उनले भने ।

सम्बन्धित समाचारसबै