
इटहरी– मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक तीनवटा पोस्टरमा चलचित्रका प्रमुख पुरुष पात्रहरु विजय लामा, रितेश चाम्स, रियर राईलगायत युद्ध भूमिमा बहादुरी प्रस्तुत गरेको अवस्थामा चित्रण छन् । पोस्टर हेर्दा गोर्खा सैनिकको बहादुरी र युद्धका विषय मनपर्ने दर्शकहरुलाई चलचित्रले आकर्षित गर्न सक्ने देखिन्छ ।
१९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा निर्माण भएको चलचित्रलाई अर्को वर्ष (२०२३) मा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् । यो चलचित्रमा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय छ । ‘गोर्खा वारियर’लाई सिरिजको रुपमा निर्माण गर्ने चाम्सको योजना छ ।
लन्डन सिनेआई प्रडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा सुरेश राई छन् । चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको छायांकन, अर्जुन बीसीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत रहेको छ ।