
काठमाडौं– नेपाल बिमा प्राधिकरणले सातवटा लघुबिमा कम्पनीलाई सञ्चालनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आइतबार तीनवटा लघु जीवन बिमा र चार लघु निर्जीवन बिमा कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
लघुबिमा कम्पनी सञ्चालनका लागि लाइसेन्स माग्दै ३१ वटा कम्पनीले प्राधिकरणमा आवेदन दिएका थिए । लघु जीवन बिमा व्यवसायका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सञ्चालन अनुमति पाएका छन् । सञ्चालन अनुमति पाएका कम्पनीमध्ये गार्डियन माइक्रो लाइफको मुख्य कार्यालय विराटनगरमा रहनेछ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मुख्य कार्यालय वीरेन्द्रनगरमा रहनेछ भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको पोखरामा मुख्य कार्यालय रहने भएको छ ।
लघु निर्जीवन बिमा व्यवसायका लागि भने ट्रस्ट माइक्रो इन्स्योरेन्स (बुटवल), नेपाल माइक्रो इन्स्योरेन्स (भरतपुर), स्टार माइक्रो इन्स्योरेन्स (जनकपुर) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स (धनगढी)ले सञ्चालन अनुमति पाएका छन् । लघुबिमा व्यवसाय गर्ने कम्पनी स्थापनाका लागि प्राधिकरणले गत १० भदौमा ३५ दिने सूचना जारी गरेको थियो । सोही अवधिभित्र प्राधिकरणमा परेको आवेदनमध्ये तोकिएको मूल्यांकनका आधारमा सो कम्पनी छनोट भएको प्राधिकरणले जनाएको छ ।