अस्ट्रेलिया– भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई प्रशिक्षणका दौरान चोटग्रस्त बनेका छन् । एडिलेडमा ब्याटिङको नेट प्रशिक्षणका दौरान उनलाई चोट लागेको हो । मिडिया रिपोर्टका अनुसार उनको दाहिने हातमा चोट लागेको छ । यस घटनाको एक भिडियो पनि सार्वजनिक भएको छ जसमा उनले प्रशिक्षण रोकेर मैदानको छेउमा बसेको देख्न सकिन्छ । तत्कालै मेडिकल स्टाफ आएर उनको हातलाई जाँच गरेको पनि देखिएको छ ।
उनको चोट कति गम्भीर हो भन्ने चाहिँ स्पष्ट जानकारी आएको छैन । भारतले आइतबार जिम्बाव्वेलाई हराउँदै टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले १० नोभेम्बरमा इंग्ल्याण्डको सामना गर्नेछ । भारत र इंग्ल्याण्ड दुवैले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले सो खेल रोमाञ्चक हुने आकलन गरिएको छ । दोस्रो सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान खेल्नेछन् ।
बीबीसी