काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् । शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको बृहत आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यतिधेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरु लाइनमा छन् । ती काण्डहरु पनि अनुसन्धान हुन् । अनि हेर्छौं’ सभापति लामिछानेले भने, ‘सरकारले यसलाई शुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनुभएन । अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नांगिसक्यो अब किन छेक्ने ।’
‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरुको उजागर भयो । विभिन्न देशका पूर्व प्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएको देखेका छौैं । यो देशको बेज्जत भएको होइन यो देशको इज्जत बढ्यो’ उनले भने, ‘पूर्व प्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिने हो । गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला । जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन ।’