
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।
मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिए ।
बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।