दाजुभाइको अंश विवादमा भाइ दोस्रोपटक आमरण अनसनमा

0 Shares

राजविराज– अंश मुद्दामा लामो समयदेखि न्याय नपाएको भन्दै एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडि दोस्रोपटक आमरण अनसनमा बसेको छ । राजविराज-४ का दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडि बिहीबार बिहान १० बजेदेखि दोस्रो पटक आमरण अनसनमा बसेका हुन् ।

सप्तरी जिल्ला अदालतबाट वादी दिनेशप्रसाद साहविरुद्ध उनका दाजु उमेशप्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४-४ धुर जग्गा हुने गरी फैसला भएको थियो । तर, फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेशको भनाइ छ ।

जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनका दाजु उमेशले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिएछि फैसला कार्यान्वयन प्रक्रिया लम्बिएको हो ।

यसअघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तीलाई उच्च अदालतका न्यायाधीशले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको साह दम्पत्तिले जानकारी दिए ।

उच्च अदालत जनकपुर राजविराज इजलाशका उपरजिष्टर उज्जवल न्यौपानेले अदालतमा मुद्दाको चाप बढिरहेको र फौजदारी मुद्दालाई प्राथमिकतामा राखेर फैसला गर्नुपर्ने हुँदा साह दम्पतीका विषयमा प्रक्रिया अनुसार पालो आएपछि न्याय निरुपण हुने बताए ।

सम्बन्धित समाचारसबै